
काठमाडौं । पछिल्लो समय छिमेकी भारतमा कोरोना संक्रमण कम हुँदै गइरहेको छ । पछल्लो दुई महिनाभन्दा पता दैनिक संक्रमितको संख्या एक लाखभन्दा तल झरेको भारत सरकारले जनाएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ८६ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन् । यो संख्या पछिल्लो ६६ दिनयताकै सबैभन्दा कम रहेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट २ हजार १२३ जनाको मात्रै मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३४४ पुगेको छ भने कुल संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ९४९ पुगेको छ ।
खुला सीमा रहेका कारण भारतमा फैलिएको कोरोना संक्रमणले नेपाललाई पनि प्रत्यक्ष प्रभावित गर्दै आएको छ । भारतमा संक्रमित बढ्दै गए नेपालमा पनि बढ्ने र घट्दै गए नेपालमा पनि घट्ने गरेको तथ्याँकले देखाएको छ ।
अघिल्लो बर्ष पनि भारतमा कोरोना संक्रमण कम हुँदै गएपछि नेपालमा पनि कम भएको थियो । पछिल्लो समय भारतमा खोप लगाउनेको संख्या बृद्धि भइरहेको र संक्रमण संख्या पनि कम देखिएपछि नेपालमा पनि बिस्तारै संक्रमित संख्या घट्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा केहि दिन यता परिएको परीक्षणमा संक्रमितको संख्या बिस्तारै घट्दै गइरहेको देखिन्छ भने कोरोना निको हुनेको सख्या पनि बढिरहेको देखिन्छ ।










