देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई माफी दिने केपी ओलीको घोषणा


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई माफी दिने घोषणा गरेका छन् । पार्टी संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ओली र नेपाल पक्षका २२ जना सांसदले फ्लोर क्रस गर्दै विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिएसँगै एमालेमा ओली र नेपाल पक्षबीचको विवाद झनै बढेको छ ।

आज च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा भएको कार्यत्रक्रममा ओलीले दुबै पक्ष मिलेर जानुको विकल्प नभएको बताएका छन् । उनले नेपाल पक्षलाई सँगै मिलेर पार्टी्मा काम गर्न आह्वानसमेत गरेका छन्।

यसअघि बुधबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले पनि २२ जना सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। तर, आज उनले बाटो विराएका नेताहरूलाई आममाफी दिने घोषणा गरेका छन् ।

पार्टीभित्रको विवाद बढ्दै गएपछि ओलीले नेपाललाई गद्दार समेत भन्न भ्याएका थिए । पछिल्लो समय भने उनले यी सबै कुरा छोडेर सँगै मिलेर काम गर्नुपर्छ भन्दै नेपाललाई दोस्रो अध्यक्ष दिने बताएका थिए । तर नेपालले भने मानेका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार