
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो तीन बजे बस्न लागेको बैठकमा सरकारमा मन्त्री पठाउनेबारे छलफल केन्द्रित हुने बताइएको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा माओवादीकातर्फबाट मन्त्री पठाउनुपर्ने भएकाले त्यसको निर्णय गर्न केहि दिनदेखि माओवादीका नेताहरुबीच छलफल जारि छ ।
देउवा सरकारमा हाल माओवादीका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । सत्ता गठबन्धनको देउवा सरकारमा माओवादीको भागमा सात वटा मन्त्रालय परेका छन् ।
माओवादीमा मन्त्रीका आकाँक्षी धेरै भएकाले मन्त्री छान्न सकस भइरहेको पार्टी अध्यक्ष प्रचण्डले बताउँदै आएका छन् । काम गर्न सक्ने दक्ष ब्यक्तीलाई सरकारमा पठाउन र मन्त्री भइसकेका ब्यक्तीलाई नदोहोर्याउन माओवादी नेता कार्यकर्ताहरुले नेतृत्वलाई सुझाव समेत दिइसकेका छन् ।










