
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको कारवाहीमा परेका बरिष्ठ नेता माधव नेपाल समुहका सांसदले ओलीलाई लाल गद्धारको संज्ञा दिएका छन् । पार्टी विधान विपरीत आफुहरुलाई कारवाही गरिएको भन्दै नेपाल समुहकी सांसद निरादेवी जैरुले ओली कम्युनिष्ट आन्दोलनका लागि लाल गद्धार भएको आरोप लगाएकी हुन् ।
ओलीको दम्व र अहँकारले पार्टी ध्वस्त हुनका साथै नेपालको कम्युनिष्ट आन्दोलनमा समेत ठुलो धक्का पुगेको नेतृ जैरुको भनाई छ ।
एमालेले सांसद पदबाट खारेज गरेपछि अनमोलपोस्टलाई छोटो प्रतिकृया दिदैं नेतृ जैरुले भनिन्, ‘ओलीको दम्व र हकँकारका कारण दुई तिहाइको कम्युनिष्ट सरकार बचेन, एमाले पनि नरहने भयो । ओलीलाई आइ लभ यू बा भन्नेहरुले माधव नेपाललाई गद्धार भनेपनि लाल गद्धार त ओली नै हुन नि ।’
नेतृ जैरुले सरकारले दल विभाजनको अध्यादेश ल्याएर आफुहरुलाई बाटो खुला गरिदिएको समेत बताएकी छन् । नेपाल समुहले नयां पार्टी खोल्ने संकेत गर्दै उनले ओली अब ‘आइ लभ यू बा’ भन्नेहरुको नेता मात्रै रहेको बताइन् ।
ओली सत्तामा हुँदा नेपालको राजनीतिक इतिहासमा कहिल्यै नभएको काम उनले मध्यराती भारतीय रअ प्रमुखलाई बालुवाटार छिराएर देश र कम्युनिष्ट आन्दोलनप्रति गद्धारी गरेको आरोप लगाइन् ।
ओलीमा कुनै पनि कम्युनिष्ट आचरण नरहेकाले सच्चा देशभक्त कम्युनिष्टहरु अब उनिसंग बस्न नसक्ने स्थिती आएको जैरुको भनाई छ ।
ओलीसंग अब एकताको कुनै संभावना नरहेकाले आफुहरु तत्काल एक्सनमा जानेगरी गम्भिर छलफलमा रहेको समेत नेतृ जैरुले अनमोलपोस्टलाई जानकारी दिइन् ।
आजै बरिष्ठ नेता नेपालले पनि एक कार्यक्रममा बोल्दै ओलीसंग हालका लागि एकताको च्याप्टर क्लोज भएको बताएका थिए ।
नयाँ पार्टी खोल्दा पनि ओलीसंग एकताको ढोका खुला रहने बताउँदै नेता नेपालले चुनावमा तालमेल गरेर जान सकिने समेत बताएका थिए ।
ओलीले आज नेता नेपालसहित उनका समुहका १४ जना सांसदको पद खारेज गरेका छन् ।
कारवाहीमा परेका सांसदहरुमा नेता नेपालसंगै जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, मेटमणि चौधरी, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ छन् ।










