
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले एमालेका सांसदहरुलाई थुतेर लगेको आरोप लगाएका छन् ।
आज पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘एमाले फुटाउन सांसदहरुलाई घर घरबाट थुतेर चन्द्रागिरीमा लगेर थुनेर राखे, बलजफ्ति गरियो ।’
‘अपहरण र ज्यादतीपूर्ण कार्य भयो । सांसदहरु जस्ता मान्छेलाई थुनेर राखियो, राम्रै खान बस्न दिएर मान्छेहरुलाई घर-घरबाट तानेर होटलमा थुनियो’, अध्यक्ष ओलीले भने ।
नेता नेपालको नयां दल नेकपा एकीकृत समाजवादीको अहिले निवार्चन आयोगमा सनाखत कार्य जारी रहेको छ भने एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई फुटबाट बचाउन नसकेकोमा दुखी रहेको समेत बताएका छन् । उनले सभामुख अग्नी सापकोटामाथि पनि रिस पोखेका छन् । एमालेले १४ सांसदलाई गरेको कारवाही सभामुख सापकोटाले ९ दिनसम्म थन्क्याएर राखेको भन्दै आक्रोष ब्यक्त गरेका छन् ।











