
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पार्टी कार्यालय उद्घाटन भएको छ । काठमाडौंको बबरमहलमा आज पार्टीको केन्द्रिय कार्यालय उद्घाटन, नयाँ बोर्ड र झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए ।
पार्टी कार्यालय उद्घाटनमा पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्यसहितहरु उपस्थिति थिए।
जनता समाजवादी पार्टीसंग औपचारिक रुपमा अगल भई नयां दल खोलेका ठाकुरले निर्वाचन आयोगबाट लोसपा दर्ताको प्रमाण पत्र बुझेसंगै पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले आफुहरु सत्ता पक्षको गठबन्धनमा नरहेको प्रष्ट पारे । गठबन्धनबाट सरकारमा आउन आग्रह गरिएमा आफुहरुले आवश्यक छलफल गरेर निर्णय लिन सक्ने समेत उनले बताए ।
‘सरकारमा जाने नजाने कुरा हामी छलफल गछौं, प्रधानमन्त्रीले भन्नुभयो भने हामी बसेर छलफल गरेर सरकारमा जान पनि सक्छौं । अहिले हामी सत्ता गठबन्धनमा छैनौं’, अध्यक्ष ठाकुरले भने ।










