
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेकाले आफुहरु अन्य कुनै पार्टीमा विलय नहुने बताए ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज पदभार ग्रहण गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) मा विलय हुने भन्दै गलत भ्रम फिजाइएको समेत बताए ।
‘यो केपी ओलीको निरंकुशताविरुद्ध विद्रोह गरेर बनेको पार्टी हो । हाम्रो पार्टी माओवादी केन्द्रमा मिल्छ वा विलिन हुन्छ भन्ने भ्रम फिजाइएको छ, त्यो गलत हो । हाम्रो पार्टी क्रान्तिकारी विचारको आधारमा निर्माण भएको छ। ’
ओलीविरुद्धको विद्रोहको पहिलो शंखघोसका रुपमा आफुहरुले देशभर समान्तर भेला, कमिटी गठन गरेको नेता नेपालले सम्झिए । नेपालको राजनीति इतिहासमा जहिले पनि विद्रोहीहरु नै अघि बढेको अध्यक्ष नेपालको भनाई थियो ।
नेता नेपालले भदौ २३ गते अघि मन्त्रिपरिषद विस्तार हुने सम्भावना नरहेको समेत संचारकर्मीलाई बताए ।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका संसदसहितका जनप्रतिनिधिहरूलाई आह्वान पनि गरे । ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरेर आफुहरुलाई तान्ने चेष्टा गरिरहेकाले त्यस्तो भ्रममा नपरी आफ्नो पार्टीमा आउन एमालेका नेता, कार्यकर्तालाई आग्रह समेत गरे ।









