
काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
परराष्ट्रमन्त्रीमा खड्कालाई नियुक्त गर्ने निर्णय हिजो बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको थियो । त्यहीअनुसार आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली आजै राती साढे आठ बजे अमेरिका प्रस्थान गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा नेपालबाट प्रतिनिधि पठाउन सत्तागठबन्धनले खड्कालाई परराष्ट्रमन्त्री बनाइएको हो । खड्का उदयपुर क्षेत्र नं. १ बाट निर्वाचित कांग्रेसको केन्द्रीय सदस्य तथा परराष्ट्र विभागका प्रमुखसमेत हुन् ।










