
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको पहिलो विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुनेछ । महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मध्यान्ह १२ बजे उद्घाटन गर्ने तालिका रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
अधिवेशनपछि उद्घाटनपछि बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यतालिका रहेको सचिव तामाङले बताए ।
तिनवटै प्रतिवेदनमाथि सहभागीलाई समूहमा विभाजन गरेपछि दोस्रो दिन समूहगत छलफल गरेर समूहगत नेताले साझा धारणा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
तेस्रो दिन समुहबाट उठेका प्रश्नको ओली, पोखरेल र पौडेलले जवाफ दिनेछन् । त्यसपछि परिमार्जनसहित प्रतिवेदन पारित हुने सचिव तामाङले बताए ।
विधान महाधिवेशनमा देशका ७७ जिल्ला, जनसंगठन, प्रवाससहितका प्रतिनिधि सहित करिब ६ हजारको सहभागी हुने बताइएको छ ।
विगतमा राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउँदै आएको एमालेले यस पटक भने नीति तय गर्न महाधिवेशन अघि नै विधान महाधिवेशन आयोजना गरेको हो । एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।










