
काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अखिल क्रान्तिकारीमा सिंह पहिलो महिला अध्यक्ष बनेकी हुन् । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् ।
नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकेका हुन् । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थियो ।
अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ भने बाँकी पदाधिकारी पनि घोषणा गरिने बताइएको छ ।
कालीकोटको महावैमा जन्मिएकी पञ्चा २०५८ सालमा १४ वर्षकै उमेरमा माओवादीले सुरु गरेको जनयुद्धमा भूमिगत भएकी थिइन् ।










