
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक सकिएको छ ।आज बसेको बैठकमा भोली मन्त्रिपरिषद विस्तार गर्ने नेताहरुबीच सहमती भएको छ ।
गठबन्धनका दलहरुले सरकारमा पठाउने मन्त्रीहरुको टुंगो लगाइसके पनि आजको बैठकमा मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मन्त्रालय भागवण्डामा असहमती जनाएपछि बैठकले निर्णय गर्न नसकेको हो । बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन निस्केका थिए ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो । तर, एकीकृत समाजवादीले आफुलाई आफुलाई ५ मन्त्रालय दिनुपर्नेमा जोड दिएको छ ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
गठबन्धनमा रहेको जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ ।










