काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सांसद निरा जैरुले गजेन्द्र हमालको नियुक्तीबारे गठबन्धनका नेताहरुले जवाफ दिनुपर्ने बताएकी छन् । सत्ता गठबन्धनलाई नै बदनाम गर्नेगरी नियूक्ती गरिएको उनको भनाई छ ।
अनमोलपोस्टसंग कुरा गर्दै सांसद जैरुले भनिन्, ‘गठबन्धनलाई नै बदनाम गराउने गरी हमालको नियूक्ती भयो, जसले गठबन्धनलाई नै कमजोर पार्छ भन्ने मेरो बुझाई हो । यसबारे नेताहरुले जवाफ दिनुपर्छ ।’
लोकतन्त्र र संविधानको रक्षाका लागि नै दलहरुबीच गठबन्धन बनेकाले सरकार र नेताहरुले सुझबुझका साथ काम गर्नुपर्ने सांसद जैरुले बताइन् ।
हमालको नियूक्तीमा प्रधानन्यायाधिशको नाम जोडिएकाले न्यायलयप्रति नै गम्भिर प्रश्न उठेको उनको भनाई छ । हमाल नियूक्तीमा प्रधानन्यायाधिशको नाम जोडिएकाले नैतिकताका आधारमा उनले राजीनामा दिनुपर्ने सांसद जैरुले बताइन् ।
‘हमालको नियूक्तीमा प्रधानन्यायाधिशको नाम जोडिनु नै लज्जास्पद कुरा हो । यसले न्यायलयप्रतिनै गम्भिर प्रश्न खडा गर्छ । जनतामा न्यायलयप्रति विश्वास राखिराख्न पनि प्रधानन्यायाधिशले नैतिकताका आधारमा राजीनामा गर्दा उचित हुन्छ’, सांसद जैरुले भनिन् ।
हमाल नियूक्ती जस्ता घटनाले लोकतन्त्र र संविधान नै खतरामा पर्ने उनको तर्क छ । केपी ओली नेतृत्वको तात्कालिन सरकारले लोकतन्त्र र संविधान खतरामा पारेकाले त्यसका विरुद्ध आफुहरु लडेको स्मरण गर्दै सांसद जैरुले बर्तमान गठबन्धन सरकार लोकतन्त्र र संविधानप्रति बढी वफादार हुँदै जनताको हितमा काम गर्नुपर्ने बताइन् ।
हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको कोटामा तीनदिन अघि मात्रै उद्योगमन्त्री बनाएका थिए । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराले आफ्नो कोटामा हमाललाई मन्त्री बनाएको खबर बाहिर आएपछि हमालको नियूक्ती विवादित भएको थियो । हमालले आजै मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । आफ्नो नियुक्तीका बिषयका विवाद उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको हमालले बताएका छन् ।
यो भिडिया पनि हेर्नुहोस










