लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्छः परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताएका छन् ।
शनिबार दिउँसो विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै परराष्ट्रमन्त्री खड्काले नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानीमा जनगणना गर्न भारतलाई सोध्नुपर्ने बताएका हुन ।

नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा परराष्ट्रमन्त्री खड्काले भने, “त्यो त अब उसलाई (भारतलाई) सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।”

नयां नक्साबारे के हुन्छ भन्ने संचारकर्मीको प्रश्नमा मन्त्री खड्काले यसअघि नेपाल सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर समस्या समाधान गर्ने प्रयास गर्ने समेत बताए।

सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सामा समेटेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई भारतले आफ्नो भूमी रहेको दावी गर्दै आएको छ । सो क्षेत्रमा २०१८ साल यता नेपालकोतर्फबाट जनगणना भएको छैन् ।

यही कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य सुरु हुन लागेको भएपनि लिपुलेक, कालापानी र लिम्पियाधुरामा भने यसबारे कुनै सुरसार छैन् ।

राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणमा अहिले घर तथा घरपरिवार सूचीकरण कार्यमा सात प्रश्‍न लिएर सुपरिवेक्षक घरदैलो गर्न थालेका छन् । महाकालीपारि दार्चुलाको व्यास गाउँपालिकामा कालापानी, लिपुलेक र लिम्पियाधुरा पर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार