
काठमाडौं । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुख अग्नी सापकोटाले वाचन गरेर बैठकमा सुनाएका थिए ।
त्यसैगरी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
बैठकमा सभामुख सापकोटाले दिएको जानकारीअनुसार अर्को बैठक कात्तिक २९ गते दिउँसो १ बजे बस्ने छ ।
प्रमुख प्रतिपक्ष दल एमालेले आज पनि बैठकमा नाराबाजी कायमै राखेको थियो । सभामुख सापकोटाले ‘प्रतिनिधिसभाको कामकारबाही शुरु हुन्छ’ भन्ने बित्तिकै एमालेका सांसदहरुले आफ्नो ठाउँबाट उठेर नाराबाजी शुरु गरेका थिए ।
सभामुखले सदनको कामकारबाही अवरुद्ध हुँदा जनसरोकारका विषयमा छलफल हुन नपाएको भन्दै संसदमा जारी नराबाजी रोक्न एमालेका सांसदहरुलाई पटक पटक आग्रह गरे ।
एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त भएको सूचना टाँस गरिनुपर्ने माग राख्दै उनिहरुले संसद बैठकमा नारावाजी गर्दै आएका छन् । तर, सभामुख सापकोटाले कारवाही गरिएका सांसदहरुले अर्कौ दल खोलिसकेको र यो विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भनेर एमालेलाई भन्दै आएका छन् ।










