
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओलीले प्रधानमन्त्रकिो सरकारी निवास बालुवाटारमा थाइल्यान्ड र इटली लगायतका देशबाट महँगा सामान भित्र्याएको खुलासा गरेका छन्।
आज चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले आफूले अब कहिल्यै बालुवाटार छोड्नु पर्दैन सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महँगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको खुलासा गरेका हुन्।
‘अहिले मलाई के थाहा भयो भने अझ प्रधानमन्त्री देउवालाई त झन बढी थाहा भयो, केपीले त अब मैले त्यो दरबार जिन्दगीभरी छोड्नुपर्दैन भन्ने ठानेका रहेछन् । थाइल्यान्ड, इटाली र रोमबाट यति महँगा महँगा समान ल्याएर थुपारेका रहेछन्, त्यो देख्दा अरु त अरु शेरबहादुर देउवा पनि जिब्रो टोक्नुभएको छ, बाफरे बाफ केपी ओलीको दम्भ ?’ प्रचण्डले भने ।
प्रचण्डले ओलीले आफू राजा नै भएँ अब यो दरबार छोड्नुपर्दैन भनेको जस्तो गरेको भन्दै यसबारे गठबन्धनमा छलफल समेत भएको बताए ।
‘अस्ति हामी गठबन्धनमा कुरा पनि गर्यौ यो त जनतालाई थहा हुनुपर्यो भनेर । अर्बौंको सामान विदेशबाट ल्याउने प्रधानमन्त्रीलाई आउने चुनावमा जनतालाई नै फैसला गर्न दिनुपर्यो’, प्रचण्डको भनाइ थियो ।
ओलीले नुहाउने सामान मात्रै करोडौं पर्ने ल्याएको प्रचण्डले खुलासा गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड केहि दिनदेखि गृह जिल्ला चितवनमा विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।












