प्रचण्डले भनेः हाम्रो जस्तो समावेशी रुपमा अरु कसैले मन्त्री बनाएको छैन्,जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्छौं


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तत्काल पार्टीले कारबाही गर्ने बताएका छन् ।

आज भक्तपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टीको जति ठूलो पदमा रहेको भए पनि जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई कारबाही गर्ने बताएका हुन्।

‘हाम्रा मन्त्रीहरूलाई जनताको पक्षमा काम नगरे पार्टीमा जस्तोसुकै ठूलो पदमा भए पनि कारबाही गर्ने भनिएको छ । जनताको पक्षमा काम नगर्ने मन्त्रीलाई तुरुन्तै कारबाही गर्ने मान्यताबाट अगाडि बढेका छौं’, अध्यक्ष प्रचण्डले भने ।

केन्द्र र प्रदेशका सरकारमा माओवादीबाट मन्त्री बनेका सबैलाई यस्तो जानकारी दिइएको समेत उनले बताए । सबै सरकारहरुमा पार्टीबाट समावेशी रूपमा सरकारमा मन्त्रीहरू पठाएको प्रचण्डको भनाई छ ।

‘केन्द्रमा सरकार बनाउँदा ६ जना मन्त्री हाम्रो भए । जसमा ३ महिला, ३ पुरुष, ५० प्रतिशत महिलालाई सहभागी गराइएको छ । यो सानो काम गरेको होइन । त्यसभित्र सहिदका छोराछोरी, आदिवासी, जनजाति, दलित, खसआर्य पनि देखिनुहुन्छ । समावेशी समानुपातिकताको यति राम्रो नमुना दिनसक्ने अरु कोही पार्टी छैन’, प्रचण्डले दावी गरे ।

त्यस्तै प्रदेश प्रदेश २ मा माओवादीबाट दुई मन्त्री रहेकोमा एक महिला र एक पुरुष रहेको बताए । त्यस्तै अन्य प्रदेशमा पनि दलित, आदिवासी, जनजातिबाट समावेशी समानुपातिक मान्यताबाट मन्त्री बनाइएको उनले बताए ।

अर्को प्रसंगमा दाहालले प्रतिनिधिसभा विघटन गरेर संविधान असफल पार्ने प्रयास भएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडकमा प्रदर्शन गर्नुपरेको स्मरण गरे।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार