
काठमाडौँ । रोल्पा कारागार कार्यालयमा जेठ ४ गते ज्यान गुमाएका कैदी सुन्दर हरिजनको मृत्युका बारेमा छानबिन गर्न गृह मन्त्रालयले एक समिति गठन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।
समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ ।
यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ ।










