टिचिङ अस्पतालद्दारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित


काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । सरकारबाट स्वास्थ्य बीमा सेवा दिएबापत भुक्तानी नपाएपछि कार्यक्रम नै स्थगित गरेको हो ।

अस्पतालले डेढ वर्षदेखि करिब ८ करोडभन्दा बढी भुक्तानी दिन बाँकी रहेको जनाउँदै हालको लागि बीमा कार्यक्रम नै स्थगित गरेको जनाएको छ । असार १५ देखि अर्को सुचना प्रकाशित नभएसम्म लागि अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको जानकारी अस्पतालले दिएको छ। अस्पतालले २०७७ मंसिर महिना देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । हाल टिचिङमा मात्रै दैनिक स्वास्थ्य बीमा कार्यक्रम मार्फत चार सयभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् ।

अस्पताल प्रशासनले सरकारलाई बीमा रकम भुक्तानी गर्न पटक–पटक बीमा बोर्डमा गएर अनुरोध गरे पनि भुक्तानी दिन आनाकाना गरेको बताएको छ ।

स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार, हाल देशभर ४४० स्वास्थ्य संस्थाले बीमा कार्यक्रम लागू गरेका छन् ।

सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच पुर्‍याउने, कुनै किसिमको आर्थिक कठिनाइ विना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उद्देश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार