दुबईका राजपरिवारको भ्रमण गृहले रोक्यो, सुनको लौरोबारे छानबिन गरिदैं


झापा । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा झापा पुगेका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रम रोकेको छ । प्रसाईलाई सुनको लौरो बोकेर झापा पुगेका राजपरिवार सदस्य सरकारी संयन्त्रको जानकारीबिना औपचारिक कार्यक्रममा सहभागी भएको भन्दै गृहले उनी सहभागी हुने भनिएका कार्यक्रमहरुमा रोक लगाइएको हो ।

माक्तुम जुमा तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनी झापा गएका थिए । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले पनि दुबईका राजपरिवार सदस्य माक्तुमको पूर्वनिर्धारित कार्यक्रमहरुमा रोक लगाइएको बताए ।

परराष्ट्र मन्त्रालयले पनि माक्तुमको नेपाल भ्रमणबारे औपचारिक जानकारी नभएको जनाएको छ । शनिबार माक्तुमले विर्तामोडमा प्रसाईंले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान मेसिनको शुभारम्भ गरेका थिए । त्यो कार्यक्रम निजी भएकाले त्यहाँ उनको उपस्थितिलाई सामान्यरुपमा लिइएको बताइएको छ।

माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएका थिए । उपहार दिएको तस्वीर सार्वजनिक भएपछि विदेशबाट आउने श्रमिकले ल्याएको बाला समात्ने भन्सारले उनलाई ‘सुनको लौरो’ लान छुट दिएको भन्दै आलोचना भएको थियो ।

आलोचना बढ्न थालेपछि बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बाहिर सार्वजनिक भएजस्तो लौरो सुनको नभएको प्रतिक्रिया दिएका थिए । उनले भनेका छन्, ‘यो टोकन अफ लभ हो, सुनको जस्ते देखिए पनि यो सुनको लौरो होइन ।’

यो विषयमा पनि छानविन भइरहेको बताइएको छ । विभिन्न सञ्चारमाध्यामले  राजकुमार भनिएका व्यक्ति पनि नक्कली भएको बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार