
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भारतको नयां दिल्लीमा भव्य स्वागत गरिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा गएका प्रचण्डलाई आज दिउँसो इन्दिरागान्धी अन्तरास्ट्रिय विमानस्थल नयाँ दिल्ली भव्य स्वागत गरिएको हो ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई विमानस्थलमा भाजपाका विदेश बिभाग प्रमुख विजय चौथाईवालेद्वारा भव्य स्वागत गरेको प्रचण्डका स्वकीय सचिव रमेस मल्लले जानकारी दिए । उनकाअनुसार प्रचण्डको स्वागतमा भारतस्थित नेपाली राजदुत शंकर शर्मा, भारत सरकारका उच्च अधिकारीहरु र नेपाली समुदायका प्रतिनिधिको पनि उपस्थिति थियो।

प्रचण्डको भ्रमण अर्थपुर्ण !
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निम्तोमा आज भारत भ्रमणमा निस्केका अध्यक्ष प्रचण्डले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ दलका शिर्ष नेता, सरकारका अधिकारीहरुसंग महत्वपुर्ण भेटवार्ता गर्ने कार्यक्रम छ ।
दिल्ली उड्नुअघि अध्यक्ष प्रचण्डले त्रिवि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफ्नो भ्रमण सद्भावनापुर्ण भएको र कुनै आकस्मिक नभएको बताएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपाल भ्रमण पुरा गरेर फर्किएको दोस्रो दिनमै प्रचण्डको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।
यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा समेत स्वास्थ्य उपचारको सिलसिलामा नयाँ दिल्लीमै रहेका बेला प्रचण्ड पनि जानुलाई अर्थपुर्ण मानिएको छ । यस्तै सरकारले आगामी प्रदेश र संघको चुनावको मिति घोषणा गर्ने तयारी भइरहेका बेला पनि सत्ता गठबन्धनको एक प्रमुख घटक मानिएका प्रचण्ड भारत भ्रमणमा गएको बिषयलाई लिएर विभिन्न टिप्पणी र विश्लेषण भइरहेका छन् ।
प्रचण्डलाई भारत भ्रमणका लागि निम्तो आएलगत्तै गत असार २८ गते नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव औपचारिक पत्र लिएर प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणा बोकेर राजदूत खुमलटार पुगेका हुन् ।
भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी लगायत सरकारी अधिकारीहरुसँग देशको व्यापार घाटा नियन्त्रण, कूटनीतिक सम्वादमार्फत सीमा समस्या समाधानका लागि विश्वासको वातावरण निर्माण गर्ने लगायतका एजेण्डामा छलफल गर्ने बताइएको छ । प्रचण्डको भ्रमण टोलीमा उनका स्वकीय सचिव रमेस मल्ल र छोरी गंगा दाहाल सहभागी छन् ।










