श्रममन्त्री कुँवरको निर्देशनमा विदेशका अस्पतालमा उपचाररत श्रमिकलाई सघाउन कार्यदल गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा विरामी वा घाइते भई सघन उपचार गराइरहेकाहरुको उद्धार र सहयोगका लागि कार्यदल गठन गर्न निर्देशन दिएका छन् ।

सरोकारवालाहरुसंगको छलफलमा गरिएको निर्णयलाई कार्यान्वयनका लागि मन्त्री कँवरले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा बिरामी वा घाइते भई उपचार गराइरहेकाहरुको उद्धार र सहयोगका लागि कार्यदल गठन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री कुँवरको उपस्थितीमा गत असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिहरुको छलफल भएको थियो । उक्त छलफलमा साउदी अरबसहितका देशहरुमा नेपली कामदारहरु बिरामी वा घाइते भई उपचार उराउँदा खर्च तिर्न नसकेका, भिसाको अवधी नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उनिहरुको उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाउने निर्णय भएको थियो ।

सोहि निर्णय कार्यान्वयनका लागि तीन सदस्यीय कार्यदल गठन गर्न निर्देशन गरेको मन्त्री कुँवरको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख रहने र सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहनेछन् ।

उक्त कार्यदलले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका नेपाली श्रमिकहरुको एकिकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्ने, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कृयाकलापबाट व्यहोर्ने लगायतका कार्यक्षेत्र रहेको मन्त्री कुँवरका निजी सचिव कृष्ण सुवेदीले जानकारी दिए।

उनकाअनुसार विदेश अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्नेछ ।

वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न गन्तव्य मुलुक पुगी काम गर्ने क्रममा विरामी वा घाइते भएर अस्पतालमा उपचाररत नेपालीको संख्या ठुलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्ड मिलेर समाधान गर्न आफु तयार रहेको मन्त्री कुँवरले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार