
काठमाडौं । नेपाल सरकारले विमान चालक अध्ययनका लागि अब नेपालमै स्कुल खोल्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै आगामी ६ महिना भित्र विमान चालक अध्यनका लागि नेपालमै फ्लाइङ स्कुल सञ्चालनको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको हो ।
मन्त्रालयले गरेको घोषणाअनुसार नेपालको पर्यटन क्षेत्रमा चाहिने आवश्यक विमान जनशक्ति उतपादन गर्न अन्तर्राष्ट्रिय स्तरको ‘फ्लाइङ स्कुल’ खोलिने छ । कार्ययोजनामा सरकारले अन्तर प्रादेशिक हवाई सेवा विस्तार गर्ने र प्रमुख स्रोत बजारबाट हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग समन्वय गर्ने कार्यक्रम समेत सरकारले सञ्चालन गर्ने घोषणामा उल्लेख छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको पुनरुत्थान गर्न सरकारले ल्याएको कार्ययोजना महत्वपूर्ण रहेको बताए । विमान चालकको आवश्यक अध्यनका लागि अहिले नेपालबाट विदेश जानु पर्ने बाध्यता छ ।
‘फ्लाइङ स्कुल’ नेपालमै संचालनमा आए यस क्षेत्रमा आफ्नो भविष्य खेजिरहेका नेपालीहरु प्रत्यक्ष लाभाम्वित हुनेछन् ।










