
काठमाडौं । माओवादी नेता जनार्दन शर्माले अर्थमन्त्रीमा पुर्नवहाली भएपछि निक्षेप बीमाको सीमा बढाएर ५ लाख पुर्याउने पहिलो निर्णय गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिए लगत्तै अर्थमन्त्रालय पुगेर पदभारग्रहण गरेका अर्थमन्त्री शर्माले बजेटमा उल्लेख भएअनुसार निक्षेप बीमाको विद्यमान सीमा ३ लाखबाट बढाएर ५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेका हुन् ।
आर्थिक बर्षको बजेट निर्माणका क्रममा अनधिकृत रुपमा बाहिरको ब्यक्तिलाई अर्थमन्त्रालयमा छिराएर करको दर हेरफेर गरेको नेकपा एमालेको आरोपपछि नेता शर्माले पदबाट राजीनामा गरेका थिए । उनिमाथि लागेको आरोपबारे छानविन गर्न बनेको संसदीय छानविन समितिले अर्थ मन्त्रालयमा त्यस्तो अनधिकृत रुपमा कोहि पनि ब्यक्ति छिरेको नपाइएको भन्दै शर्मालाई सफाई दिएपछि उनि पुनः अर्थमन्त्री बन्ने बाटो खुलेको थियो ।









