
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्ता भएको छ । आज दिउँसो मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको श्रम सम्झौताबारे महत्वपुर्ण छलफल भएको छ ।
छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले हिजोमात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराएका छन्।
त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि मन्त्री कुँवरलाई जानकारी गराएका थिए ।
भेटमा मन्त्री कुँवरले राजदूत गोदेरलाई नेपाली जनतालाई इजरायल सरकाले उपलब्ध गराएका सबै प्रकारका सहयोगका लागि धन्यवाद दिएका छन् ।

आगामी दिनमा पनि इजरायल सरकारले नेपालको कृषि, पर्यटन, उद्योग लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्न उनले गोदेरलाई अनुरोध गरे । मन्त्री कुँवरले श्रम मन्त्रालयले भरखरै विदेशबाट फर्किएका नेपाली कामदारका लागि पुनःएकीकरणको नीति पारित गरेकाले यसमा इजरायलका लगानीकर्तालाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।
इजरायल वैदेशिक रोजगारका लागि आर्कषणको केन्द्र बन्दै गएकाले नेपालीहरु त्यहाँ गई विभिन्न क्षेत्रमा कामको अनुभव बटुल्दै स्वदेश फर्केर उत्पादन र सीपमार्फत अर्थतन्त्रमा योगदान गर्नसक्ने मन्त्री कुँवरको भनाई थियो ।









