
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोष एक सुरक्षित घर भएको बताएका छन् । सामाजिक सुरक्षा कोषको मोवाइल एपको आज मन्त्रालयमा एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै मन्त्री कुँवरले कोषमा गरेको लगानी एक सुरक्षित घर जस्तै भएको बताएका हुन् ।
कोषलाई समयअनुसार प्रविधिमैत्री बनाउन मोवाइल एपको निमार्ण गरिएको भन्दै उनले लगानीकर्ताले घरमै बसेर एपबाट धेरै सुविधाहरु पाउन सकिने बताए ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा कोष सञ्चालन समितिका अध्यक्ष एकनारायण अर्यालले कोषले देशको गरिबी निवारणमा समेत योगदान पुर्याउने सरकारको अपेक्षा रहेको बताए । कोषमा अहिलेसम्म २ लाख ५० हजार लगानीकर्ता आवद्ध भइसकेको जानकारी दिदैं सचिव अर्यालले प्रत्येक रोजगारदाताले कोषमा सहभागिता जनाउनु पर्नेमा जोड दिए । सचिव अर्यालले एपको भरपूर प्रयोग गरेर यसका कमीकमजोरी औँल्याइदिन सबैमा अनुरोध पनि गरे ।
विगतमा कोषको पैसा परिचालन गर्न सकिएन भन्ने गुनासो आएको भन्दै अब अर्को शरणमा उद्यमशिलता र राजगारीमा केन्द्रित भएर योजना अघि सार्ने समेत उनले जानकारी दिए । विदेशमा बस्ने नेपालीलाई समेत कोषमा आबद्ध गराउने काम अगाडि बढिरहेको उनको भनाइ छ ।
कोषले योगदानमा आधारित ऋण (सापटी) दिन सुरु

सामाजिक सुरक्षा कोषले आजबाट योगदानमा आधारित ऋण (सापटी) दिन सुरु गरेको छ । सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ अनुसारको योगदानकर्ता सापटी अन्तर्गत कोषले योगदानकर्ताको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म विशेष सापटी दिन सुरु गरेको हो ।
कोषमा योगदान गरेको तीन वर्ष पुरा भएपछि सापटी लिन पाउने व्यवस्था अनुसार आज पहिलो दिन दुईजनालाई सापटी रकम र एकजनालाई अवकाश रकम खाजामा जम्मा गरि उक्त कार्यको सुरुवात गरिएको हो । मन्त्री कुँवरले लगानीकर्ता तीनैजनाको खातामा आजै शुभारम्भ गरिएको मोवाइल एपबाट रकम जम्मा गरेका छन् ।
मापदण्ड पुगेका कोषका योगदानकर्ताहरू बिनय कुमार महतो र पवनबाबु प्रधानले मोवाइल एपमार्फत सापटी रकम पाएका हुन भने पहिलो पटक सोल्टी होटलबाट अवकाश पाएका केशव खड्कालाई अवकाश भुक्तानी प्रदान गरिएको कोषका प्रवक्ता बिबेक पन्थीले जानकारी दिए ।
कोषका योगदानकर्ताहरूले शुभारम्भ भएको मोवाइल एपमा कोषमा जम्मा भएको आफ्नो रकमबारे जानकारी पाउन, आफ्नो केवाईसी भर्न, अवकाश हुँदा अवकाश योजनाको रकम भुक्तानी लिन, योगदानकर्ता विशेष सापटीका लागि आवेदन दिन र अस्पतालमा उपचारका लागि योग्य रहे नरहेको बारेमा जानकारी लिन सक्ने कोषका प्रवक्त पन्थीले बताए। यो एप मोवाइलको प्लेस्टोरमा गएर डाउनलोड गर्न सकिन्छ ।










