
दार्चुला। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको नयां चुच्चे नक्सा प्रचण्ड र माधव नेपालको नेतृत्वमा बहुमतको निर्णयले तात्कालिन नेकपा पार्टीले ल्याएका बताएका छन् । आज दार्चुलाको सदरमुकाम खलंगामा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुच्चे नक्सा तत्कालीन नेकपा पार्टीका नेता प्रचण्ड र माधव नेपालको नेतृत्वमा भएको निर्णयले आएको बताएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले चुच्चे नक्सा आफुले मात्रै ल्याएको भन्दै झुटो बोल्ने र जनतामा भ्रम छर्ने काम गरिरहेको उनले बताए । दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमी भएको बताउँदै देउवाले उक्त भूमी भारतसंग वार्तामार्फत फिर्ता लिने समेत बताए ।
ओलीको प्रतिगमन प्ररास्त गर्दै संविधानको रक्षा र विकासको बाटोमा देशलाई दौडाउन सत्ता गठबन्धन बनेकाले कुनै भ्रममा नपरी गठबन्धनका साझा उम्मेदवारलाई मतदान गरि जिताउन देउवाले आग्रह पनि गरे ।












