
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचानको मुद्दा कार्यान्वयन सबै एकजुट हुनुपर्ने बताएका छन् ।
आज काठमाडौंको बसन्तपुरमा बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० शुभारम्भ घोषणा तथा भाषा दिवस २०८१ को कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पहिचानको मुद्दा कार्यान्वयनमा सबै एकजुट हुनुपर्ने बताएका हुन् ।
उनले उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधिको पहिचान गरेर अधिकारको रक्षा गर्न अपिल समेत गरेका छन् ।
नेपाली जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संविधानलाई पूर्ण तुल्याउन पनि सबैको एक्यबद्धता आवश्यक रहेकोमा जोड दिए ।
नयां संविधान अपुरो भएपनि त्यसमा पहिचान र अधिकार स्थापित गराउन आफु र माओवादी पार्टीले ठुलो संघर्ष गरेको पनि उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडितहरु इमान्दार भएर एकजुट भई पहिचान र अधिकार प्राप्तिमा निरन्तर लागिरहने हो भने सफलतामा अवश्य पुगिने पनि आश्वासन दिए ।











