
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा संसदीय छानविन समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएको जनाएको छ । आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलमा समिति बनाउन प्रधानमन्त्री सकारात्मक भएका हुन् ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री प्रचण्ड त्यसमा सकारात्मक भएको बताएका छन् ।
सोमबार बस्ने काँग्रेसको संसदीय दलको बैठकबाट यसबारे थप निर्णय गर्ने पनि उनले बताए ।
आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले संसदको अवरोध हटाउनेबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूलाई बालुवाटार बोलाएका थिए ।
छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछाने उपर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएको छ ।










