
काठमाडौं । विधुत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले उज्यालो नेपाल अभियान लिएर युरोप अमेरिका भ्रमणमा छन् । ओली सरकारले कुलमानलाई प्राधिकरणबाट हटाएपछि उनि उज्यालो अभियान लिएर देश विदेशका नेपालीहरु माझ पुगिरहेका छन् ।
यहि क्रममा जुलाई २८मा अमेरिकाको न्युयोर्कमा ग्लोवल हिरो अवार्डबाट सम्मानित भएका कुलमान अहिले अमेरिकाका विभिन्न शहरहरुमा नेपालीहरुसंग संवाद, अन्तरकृया, छलफलमा गरिरहेका छन् ।
देशका तमाम समस्याहरुलाई समाधान गरेर कसरी विकासउन्मुख हुन सकिन्छ भन्दै अमेरिकामा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरुसंग छलफल गरिरहेका हुन्।
छलफलकै क्रममा उज्यालो अभियानका संयोजक घिसिङले बुधबार अमेरिकाको बोस्टनस्थित हार्वड र मिट विश्वविधालयमा कार्यरत इन्जिनियर, अनुसन्धानकर्ता, वैज्ञानिकहरू, नीति अध्येताहरुसङ्ग अन्तरकृया गरेका छन् ।
सो कार्यक्रममा देशमा व्याप्त निराशालाई आशामा वदली आमूल परिवर्तन कसरी ल्याउन सकिन्छ भन्ने विषयमा गहन छलफल घिसिङले सुरु गरेको उज्यालो नेपाल अभियानलाई सबै मिलेर अगाडि बढाउने सहमति भएको घिसिङको सचिवालयका राम तामाङले जानकारी दिए । संयोजक घिसिङ अमेरिकाका विभिन्न शहरहुँदै बेलायतको लण्डनमा रहेका नेपालीहरुसंग पनि उज्यालो नेपाल अभियानबारे छलफल गरेर अगष्ट २६ मा नेपाल फर्किनेछन् ।














