काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तलाई न्याय दिन सरकार लज्जास्पद ढंगले असफल भएको नेपाली काँग्रेसले आरोप लगाएको छ।
काँग्रेसले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्नसमेत सरकार असफल भएको बताएको हो।
निर्मला पन्त प्रकरणबारे मंगलबार आयोजित पत्रकर सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिलाई पनि कांग्रेसले गैर जिम्मेवार भनेको छ । ‘निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पूरा हुन्न, कांग्रेस प्रवक्ता विश्वकप्रकाश शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन्।
कन्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मलाको हत्याकाण्डमा सरकारले एक वर्षभित्रमा दोषी जोगाउने प्रपन्च, निर्दोषलाई दोषी ठहर्याउने प्रयत्न गरेको काँग्रेसको आरोप छ ।
यसबीचमा सरकार एक्सनमा भन्दा भाषणमा बढी भेटिएको भन्दै प्रवक्ता शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले समेत गैर जिम्मेवार अभिव्यक्ति दिएको विज्ञप्तीमा उल्लेख गरेका छन ।
काँग्रेसले निर्मला हत्याकाण्डमा सात वटा बुँदामा सरकारको आलोचना गरेको छ । जुन यस्ता छन् :
१) दोषी जोगाउने प्रपन्च
निर्मला पन्तको शव भेटिएको स्थलमा रहेका तथ्य सुरक्षित ढंगले संकलन गरिनु पर्नेमा प्रमाण नष्ट गर्ने ढंगले कपडालगायत धोइनु दोषी जोगाउने प्रपन्चको खुलेआम प्रस्तुति नभई के थियो भन्ने जवाफ आजसम्म प्राप्त छैन।
२) निर्दोषलाई दोषी ठहर्याउने प्रयत्न
घटनाको केही दिनपछि दोषीका रुपमा सार्वजनिक गरिएका दिलिपसिं विष्ट मानसिक सन्तुलन गुमाएको नागरिक रहेका सत्य खुल्यो। केही महिनापछि सरकारको ठम्याइएका दोषी १८ वर्षे विशाल चौधरी घटनाभन्दा दुईदिन अघि कुखुरा चोरीको अभियोगमा कञ्चनपुर हिरासतमै रहेको तथ्य खुल्यो।
३) जनप्रदर्शनमा मारिए बालक
दोषीमाथि कार्वाहीको माग गर्दै कञ्चनपुरमा भएको जनप्रर्दशनलाई संयमतापूर्वक विश्वासमा लिनु भन्दा सरकारले दमनको नीति अख्तियार गर्यो। प्रहरीको गोली लागेर कलिला बालक सनि खुना मारिए। दर्जनौ घाइते भए।
४) गैह्र जिम्मेवार अभिव्यक्तिहरू
यो प्रकरणमा सरकार एक्सनमा कम भाषणमा बढी भेटियो। स्वयं प्रधानमन्त्रीकै विवादास्पद अभिव्यक्ति टेलिभिजन अन्तरवार्ता मार्फत आयो भने वर्षदिन पुग्नै लाग्दा गृहमन्त्रीको जिम्मेवार ओहोदाबाट गैह्र जिम्मेवार विचार प्रस्तुत भयो ‘यस्तो विगतमा पनि भयो, आज पनि भइरहेको छ र भविष्यमा पनि हुन सक्छ।’
नेपाली कांग्रेस प्रश्न गर्न चाहन्छ संवेदनशील घटनामा यस्तो ढंगको अभिव्यक्ति राख्नु मानवीय कोणबाट न आपत्तिजनक छ नै, जिम्मेवार राज्यको अभिमत के यस्तो हुन मिल्छरु
५) प्रहरीलाई बदनाम गराउने षडयन्त्र
अपराध अनुसन्धानको दक्षताका दृष्टिले दक्षिण एशियामा अग्रपंक्तिमा नाम आउने नेपाल प्रहरी यो प्रकरणमा असफल भएको हो या सरकारको नियतवश सफल हुन नदिइएको होरु यो गम्भीर प्रश्न वर्षदिन पुगिरहँदा हामी यसकारण उठाइरहेका छौं किनकि यो प्रकरणमा सरकारले प्रस्तुत गरेको व्यवहार प्रहरीलाई सफल बन्न दिनेतर्फ कम घटनाको ढाकछोप गर्ने नियततर्फ विशेष सर्तकता देखियो।
६) सरकार असफल
अन्ततः एक वर्षको संक्षिप्त निष्कर्ष हो सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल भएको छ र यस्तो प्रकृतिका घटनालाई नियन्त्रित र निरुत्साहित गर्न प्रभावकारी सन्देश सम्प्रेषण गर्न समेत असफल भएको छ।
७) गम्भीर वहसको खाँचो
निर्मला प्रकरण न प्रथम न अन्तिम भनेर गैह्र जिम्मेवार जवाफ दिएर सरकारको कर्तव्य पूरा हुन्न। निर्मला प्रकरण वर्षदिन पुगिरहँदा नेपाली कांग्रेस यस्तो जघन्य अपराधका पछिल्तिरको सामाजिक मनोविज्ञान, प्रशासनिक कमजोरी, कानूनी सचेतताको व्यापकता, राज्यको गहन जिम्मेवारी, राजनीतिक दलहरुको साझा कर्तव्य र संचार माध्यमलगायत सिंगो समाजको भूमिका एवं दायित्व बारे विशेष बहषको आवश्यकता औल्याउन चाहन्छ। निर्मला पन्तको आत्मालाई शान्तिको कामना यही इमानदार प्रयत्नबाट मात्रै हुन सक्दछ।











