
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सोमबार शिलान्यास गरेका छन् ।
चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा आयोजित एक विशेष समारोहका बीच प्रधानमन्त्रीले राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गरेका हुन् ।
शिलान्यासका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी समेत गरे ।
“१६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेका छन उनले जानकारी दिदै भने, हामीले बाटाहरु मात्र बनाइरहेका छैनौं । एयरपोर्टहरु बन्दैछ । फास्ट ट्र्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, देश विकासमा दौडिएको छ ।”
प्रधानमन्त्री ओलीले साढे ३ वर्ष जनतालाई पर्खिन आग्रह गर्दै देशको मुहार परिर्वतन भएको देख्न मिल्ने बताए।
शिलान्यास गरिएको सुरुङमार्ग निर्माणका लागि ५ अर्ब ५० करोड २ लाख १३ हजारमा जापानी कम्पनीसँग सम्झौता भइसकेको छ ।
सुरुङमार्फत निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० ले सहुलियत ऋण उपलब्ध गराउने यसअघि नै जनाइएको छ ।










