
बझाङ । बझाङमा निर्माणाधिन जलविद्युत आयोजनाको सुरूङभित्र फसेका मजदूरको उद्धारका लागि हेलिकप्टरसहित तालिमप्राप्त सशस्त्र प्रहरी पठाइएको छ।
जिल्लाको बुंगल नगरपालिका १ कालंगामा निर्माणाधिन उक्त सुरुङमा हिजो (आइतबार) दिउँसोदेखि फसिरेहका ४ जना कामदारको उद्धारका लागि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका चार जना उद्धार टोलीलाई समिट एयरको हेलिकप्टर बझाङ पठाइएको एसएसपी किशोर प्रधानले जानकारी दिए।
सुरूङ खन्न गएका छ जनामध्ये दुई जना बाहिर निस्किएका थिए भने चार जना त्यसमै फसेको बझाङ प्रहरीका डिएसपी गणेश बहादुर बलले बताए ।
बेपत्ता हुनेहरुमा दैलेखको गुराँस गाँउपालिका–३ का ३२ बर्षिया महेन्द्र शाहि, सोही गाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाँउपालिका – ६ का २८ बर्षीय महेन्द्र साँउद र बझाङको बुंगल नगरपालिका– १ का ३५ बर्षीय शेर सिंह धामी रहेको डीएसपी बमले जानकारी दिए ।
उनका अनुसार अक्सिजन अभाव हुँदा मजदूरहरू सुरूङभित्र फसेको छन् । सुरूङभित्र गएका दुई जना सास फेर्न गाह्रो भएपछि बाहिर निस्किएका थिए ।












