एक घन्टा कैद भुक्तान गरेका पत्रकार भण्डारीको अर्को चेतावनी

काठमाडौँ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले एक घण्टा कैद भुक्तान गरेका छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले भण्डारीलाई १ घण्टा नियन्त्रणमा लिएर रिहा गरेको हो ।

निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विषयमा भण्डारीले अदालतको अवहेलना हुने गरी लेख तथा समाचार प्रकाशन गरेको भन्दै जिल्ला अदालत बार एशोसिएसन महेन्द्रनगर कञ्चनपुरले भण्डारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा कञ्चनपुर जिल्ला अदालतले असार ३० मा भण्डारीलाई १ रुपैयाँ जरिवाना भराएर १ घण्ट कैद सजाय तोकेको थियो । निर्मला प्रहरणमा उनले सामाजिक सञ्जालमा निरन्तर लेख्दै आएका थिए ।

सो घटनाको आधारमा पत्रकार भण्डारीलाई प्रहरीले पक्राउ गरी १ घण्टापछि रिहा गरेको हो ।

रिहा भएलगत्तै पत्रकार भण्डारीले अदालतको फैसला पालना गर्दै आफुले १ घण्टा कैद भुक्तानी १ रुपैयाँ जरिवाना तिरेको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस् लेख्दै भण्डारीले अदालतले आफ्नो पुनरावदेन गर्न पाउने अधिकारलाई भने अपहरण गरेको दाबी गरेका छन् । उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निर्मला हत्या प्रकरणमा अदालतभित्रैका केही काला कर्तुतेहरुको मिलेमत्तोको गन्ध आएको छ । अब न्यायालयलाई कलंकित गर्नेहरुविरुद्ध लड्ने बाटो खुलेको छ ।’

भण्डारीले मंगलबार दिउँसो कञ्चनपुर प्रहरीले आफूविरुद्ध हालेको अबहेलना मुद्दामा भएको फैसलामा पुनरावेदनको समेत मौका नदिइ पक्राउ गर्न निर्देशन दिएको भन्दै आपत्ति जनाएका थिए । उनले आफू अदालत गएको जान लागेको समेत समाजिक सञ्जालमार्फत बताएका थिए ।

निर्मला पन्तको ०७५ साउन १० गते बलात्कार पछि हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्यारा पत्ता लगाउन जतिसुकै आन्दोलन भएपनि अहिले सम्म उनको हत्यारा पत्ता लाग्न सकेको छैन् ।

भण्डारीको फेसबुक स्टाटस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार