धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो मानसिकता भन्दा माथि उठेर काम गर्न कर्मचारीलाई आग्रह गरेका छन् । पुरानै शैलिमा काम गर्दा जनताले नपत्याउने भएकाले अहिलेको परिपक्षमा कर्मचारीको मानसिकता नै परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन् ।
शुक्रबार सुदुरपश्चिम प्रदेशको धनगढीमा सुदुरपश्चिम वित्तीय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले सबैले नाफा कमाउनकै लागि लगानी गर्ने बताए । उनले भने, मान्छेको स्वभाव नै नाफा माउने हो । उनले नीजि क्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्नका लागि समयमा कानुन र सुरक्षाको व्यवस्था गरी नाफा कमाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा उनले त्रिदेशीय व्यापार मार्गको रुपमा गौरीफण्टा–चैनपुर–ताक्ला कोट राजमार्ग बनाउन पहल शुरु भएको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय पहुँचको सुनिश्चितता र प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्ने उदेश्यले वित्तीय सम्मेलन सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, पर्यटनमन्त्री, श्रम तथा रोजगारमन्त्री, अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहका प्रमुख, उद्योग वाणिज्य संघका प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रमुख लगायत झण्डै चारसय बढीको सहभागिता छ ।
प्रदेशमा आधुनिक बैंकिङ प्रणाली लागू गर्नको लागि सम्मेलन कोसेढुङ्गा सावित हुने सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहोराको भनाई छ । ३६ लाख खर्च अनुमान गरिएको सम्मेलन मार्फत सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा बैंक स्थापना गर्न मद्दत पुग्ने आयोजकको विश्वास छ ।
अहिले सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ वटामा मात्र वित्तीय पहुँच पुगेको छ ।











