
काठमाडौं । आज बिहान सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा सामान्य घाइते भई बाँच्न सफल एक बालिका बिचल्लीमा परेकी छन् ।
दुर्घटनामा ति बालिकाकी आमाको मृत्यु भएको र बुवा दुर्घटनामा परेको बसका चालक सुमन तामाङ फरार रहेकाले नाबालिका बिचल्लीमा परेकी हुन ।
दुर्घटनामा परी घाइतेहरुलाई सिन्धुपाल्चोकको सिन्धु सदावहार अस्पताल खाडिचौरमा ल्याएकामध्ये ति बालिका पनि थिइन । सामान्य उपचारपछि उनका अभिभावकको खोजी गर्दा उनि बसकै चालक तामाङकी छोरी भएको बुझिएको सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए ।
करिब ७ महिनाकी ति बालिकालाई अहिले अस्पतालमा रहेकी सुनकोशी गाउँपालिका–७ माझी गाउँकी सुनिता माझीले आफ्नो दूध चुसाएर राखेकी छन् ।
माझीले बालिकाका आफन्त नआएसम्म आफुले दुघ चुसाएर राख्ने बताएकी छन् ।
दुर्घटनामा परी अहिलेसम्म १५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते छन् ।
दोलखाको प्रसिद्ध कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बा २ ख ४४६८ नम्बरको बस आइतबार बिहान ८ः३० बजेतीर सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ स्थित छ किलोमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ जना घाइते थिए । घाइतेमध्ये थप २ जनाको मृत्यु भएपछि मृतक संख्या १५ पुगेको हो ।










