
काठमाडौं । कोरोना भाइरसको त्रास विश्वव्यापी रुपमा रहेका बेला यसबाट बच्ने उपाय अपनाउँदा चाहिने केहि सामानहरुको अहिले काठमाडौंमा कालोबजारी छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि प्रयोग गरिने मेडिकल सर्जिकल माक्स, ह्याण्ड सनीटाइजर लगायतकको कालोबजारी हुन थालेको हो । यि सामानहरुको कृतिम अभाव गरी मूल्य भन्दा तेब्बर रकम असुल्न थालेपछि गरिएको बजार अनुगमनमा त्यस्ता ब्यापारीलाई धमाधम जरिवानासहित कारवाही हुन थालेको छ ।
अस्पतालका छेउछाउमै रहेका फर्मोसी ब्यापारीहरुले ५ रुपैयां पर्ने माक्सलाई २५ देखि ३० रुपैयामा बिक्री गर्ने गरेको पाइएपछि उनिहरुलाई १० हजारदेखि २० हजारसम्म जरिवाना गरिएको छ ।
अनुगमनको पछिल्लो कारवाहीमा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल अगाडि रेहका २ वटा फार्मेसी परेका छन् ।
अस्पताल अगाडी रहेका शुक्र र शास्त्री दुईवटा मेडिकल पसलमा छापा मारेर २० हजार रुपैयाँ जरिवाना तिराएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
शास्त्री फार्मेसीले ५ रुपैयाँ पर्ने सर्जिकल मास्कको कृतिम अभाव देखाउदै प्रतिमाक्स ३० रुपैयाँमा बेच्दै आएका थिए ।
त्यस्तै शुक्र फार्मेसीले २५ रुपैयाँ प्रतिमाक्स बिक्री गर्दै आएका थिए । यि दुबै फर्मेसीलाई १० / १० हजार जरिवाना गरिएको छ ।
ति औषधी ब्यापारीहरुले माक्स खरिद गरेको बिल देखाउन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार जरिवाना गराइएको हो ।
काठमाडौं उपत्यकामा विभागले बजार अनुगमन जारी राख्ने समेत बताएको छ ।















