सुदूरपश्चिममा १ सहित कोरोनाबाट थप ५ जनाको मृत्यु


काठमाडौं । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा, तनहुँ, नवलपरासी,  कपिलवस्तु र सप्तरीका ५ जना रहेका छन् ।

डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । भारतबाट आएका उनलाई
श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । उनलाई भारतमै कोरोना पुष्टि भएको र फेरि जिल्लामा पनि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । डडेल्धुरामा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भएको हो ।

त्यस्तै तनहुँको आबुखैरेनी ३ का ३९ वर्षीय कोरोना संक्रमित पुरुषको आज विहान चितवनमा मृत्यु भएको छ । उनलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान मृत्यु भएको छ । आजै कपिलवस्तुको बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको कोरोना संक्रमणबाट आजै विहान मृत्यु भएको छ ।
३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए । मृतक प्रमुख जिल्ला अधिकारीको निवासमा खाना बनाउने गर्थे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार