
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले नेताहरु जिम्मेवारी बाँडफाँड गरेके छ । पार्टी स्थायी कमिटी, सचिवालय सदस्य र प्रदेश इञ्चार्जहरु चयन गर्दै जम्मेवारी बाँडफाँड गरेको हो ।
राष्ट्रिय सम्मेलन नहँुदासम्म काम गर्न भन्दै नेताहरुलाई उक्त जिम्मेवारी बाँडफाँट गरिएको नेकपा एसले जनाएको छ ।
नेकपा एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन ९अपानी०मा उल्लेख भएअनुसार पार्टी अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल सहित पहिले नेकपाको स्थायी कमिटीमा रहेकाहरुलाई नेकपा एकीकृत समाजवादीले स्थायी कमिटीमा राखेको हो । स्थायी कमिटीमा नेपाल र खनालसहित मुकुन्द न्यौपाने, डा। बेदुराम भुसाल र प्रमेश हमाल छन् ।
साथै पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा। गंगालाल तुलाधर, डा। विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेको सचिवालय गठन गरिएको छ । केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी तुलाधरलाई दिइएको छ ।
त्यसैगरी नेकपा एसले सुदूरपश्चिमबाहेक सबै प्रदेश इञ्चार्ज पनि तोकेको जनाएको छ । जसमा प्रदेश १ को इञ्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह, बागमती प्रदेश इञ्चार्ज केदार न्यौपाने, गण्डकी प्रदेश इञ्चार्ज केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्ज भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी प्रकाश ज्वालालाई दिइएको छ ।
त्यस्तै उपत्यका विशेष प्रदेश इञ्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्जमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल रहेका छन् । त्यस्तै जगन्नाथ खतिवडालाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने प्रवास क्षेत्रको जिम्मा श्रीप्रसाद शाहलाई दिइएको नेकप एसले जनाएको छ ।
यसैगरी अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई दिइएको छ । संसदीय कामको जिम्मेवारी भने विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ ।
त्यस्तै नेकपा एसले पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ ।














