ओलीले हटाएका तिलक परियार फेरी भए प्रदेश प्रमुख


काठमाडौं । दलित अगुवा तथा नेकपा माओवादी केन्द्रका नेता तिलक परियार कर्णाली प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले परियारलाई कर्णाली प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।

लामो समयदेखि कम्युनिष्ठ आन्दोलन र दलित मुक्तिका लागि संघर्षरत परियार यसअघि प्रदेश २ को प्रदेश प्रमुख थिए । उनलाई तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ७ फागुन २०७७ मा प्रदेश २ को प्रदेश प्रमुखबाट हटाएका थिए । २०७६ कात्तिकमा तत्कालीन ओली नेतृत्वकै नेकपाको सरकारले परियारलाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

सात वटा प्रदेश प्रमुखमा एकजना मात्रै दलित समुदायका प्रदेश प्रमुखका रुपमा रहेका परियारलाई ओलीले हटाएकोप्रति तिर्व विरोध भएको थियो । परियारलाई प्रदेश प्रमुखबाट हटाएर ओलीले सिंगो दलित समुदायमाथि अन्याय गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले परियारसंगै सुदूरपश्चिम प्रदेशमा देवराज जोशी र प्रदेश १ मा पर्शुराम खापुङलाई प्रदेश प्रमुखमा नियुक्त गरेको छ । जोशी नेपाली कांग्रेस र खापुङ जनता समाजवादी पार्टी (जसपा) को कोटाबाट प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार