
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुन नसकेपनि आफुलाई कुनै टेन्सन नभएको बताएका छन् ।
भारत भ्रमण सकेर आज साँझ स्वदेश फर्केका अध्यक्ष प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताएका हुन् ।
मोदीसंग किन भेटवार्ता भएन भन्ने संचारकर्मीको जिज्ञासामा उनले भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको उनले जवाफ दिए । मोदीसंग भेट भएपनि फोटो खिच्नेवाहेक अन्य कुने खास कुरो नहुने समेत बताए ।
‘प्रधानमन्त्री मोदीजीसंग भेट भएन भनेर मलाई कुनै टेन्सन पनि भएको छैन, भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो, प्रचण्डले ।
मोदीसँग भेट नभएपनि उनको दल भाजपाका अध्यक्ष, विदेशमन्त्री, शीर्ष तहका नेता तथा सरकारी अधिकारीसंग फलदायी भेटवार्ता भएको प्रचण्डको भनाइ छ ।












