रौतहट । रौतहटमा गोली चलेको छ । गोली लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
विवादका क्रममा गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।
गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुक बाट गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको १२ बोरको हतियार प्रहरीले बरामद गरेको र घटनाबारे अनुसंन्धान भइरहेको एसपी बुढामगरले बताए ।