
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु भएको छ । मन्त्रिमण्डल पुनर्गठन बारे छलफल गर्न बैठ बसेको हो । बैठकले पनर्गठनमा पर्ने मन्त्रीहरुको नाम अनुमोदन गर्नेछ । साथै बैठकले पार्टी एकीकरणबारे समेत छलफल गर्ने बताइएको छ ।
बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् । बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।
मंगलबारको बैठकमा प्रधानमन्त्रीले बुधबार बस्ने बैठकले मन्त्रीमण्डल हेरफेरको काम सक्ने बताएका थिए । त्यसैले पनि आजको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
बैठक अघि बुधबार विहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सिफारिस नाम राष्ट्रपतिकोमा लगिएको थियो ।
यस्तै प्रधानमन्त्री ओलीले मंगलबार बुधबारको बैठकले मन्त्रीको टुंगो लगाउने भएकाले सबै मन्त्रीलाई काममा नजान आग्रह गरेका थिए । सोही आग्रह अनुसार बुधबार धेरै मन्त्रालयमा मन्त्री अनुपस्थित रहेको बताइएको छ ।








