
काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) कोरोना भए नभको पत्ता लगान परीक्षण गर्ने विधिमध्येको एक हो । यो परीक्षण गर्दा व्यक्तिमा कारोना भए नभएको पत्ता लाग्छ ।
तर पछिल्लो समय नेपालमा आरडिटी परीक्षण गर्दा कोरोना संक्रमणमा केही समस्या देखिएको छ । यो विधिबाट परीक्षण गर्दा नेगेटिभ देखिएका व्यक्तिलाई पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ ।
त्यसैले मान्छेको ज्यान नै खतरामा देखाउने आरडिटी परीक्षण बन्द गर्न चौतर्फी विरोध भइरहेको छ । सरकारले पनि अब आरडिटी परीक्षण रोक्ने तयारी गरिरहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब लामो समयसम्म क्वारेन्टिनमा बसेकाहरूको मात्र एन्टिबडी भए नभएको पत्ता लगाउन आरडिटी गर्ने तयारी रहेको जनाएका छन्।
मन्त्रालयका अनुसार दुई हप्ता बढी समय क्वारेन्टिनमा बस्नुभएका व्यक्तिको पीसिआर गर्नुपर्दैन, र १४ दिन क्वारेन्टिनमा बसेकाहरु छन् र त्यहाँ नयाँ मान्छे नथपिएको अवस्थामा पनि पिसिआर परीक्षण गर्नुपर्दैन ।
तर, क्वारेन्टिनमा बीचमा पनि मान्छे थपिएपछि संक्रमण फैलिने डर हुने, प्रवत्ता गौतमले बताएका छन् । धेरै ठाउँमा पहिले र पछि आएकालाई एकै ठाउँमा घुलमिल गराइएको छ ।
सरकारले सुरूमै आरडिटी किट प्रयोगमा ल्याउँदा विश्व स्वास्थ्य संगठनले सिफारिस नगरेको भन्दै विज्ञहरूले यसको प्रयोग नगर्न सरकारलाई चेतावनी दिएका थिए। तर सरकारले भने पिसिआर भन्दा आरडिटी किटमै जोड दियो।
सरकारले आरडिटी परीक्षण गरी घर पठाएका धेरैमा संक्रमण देखिएको छ। यसैलाई ध्यानमा राखि मन्त्रालयको कोभिड -१९ टेस्टिङ सम्बन्धी नयाँ निर्देशिकाले पिसिआर परीक्षणलाई कडाइ गरेको छ।
निर्देशिकामा क्वारेन्टिनमा रहेकाहरूको लक्षण देखिए मात्र पिसिआर गरिने कुरा उल्लेख छ। विज्ञहरूले भने यो नीतिले संकट आउनसक्ने जनाएका छन्।











