कंचनपुर । कंचनपुरकी १३ बर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन बर्ष पुगेको छ । आजकै दिन अर्थात १० साउन २०७५ मा जिल्लाको भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित खोला छेउ उखुको खेतमा निर्मलाको शव भेटिएको थियो ।
साथी रोशनी बमको घरमा गएकी निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । निर्मलाको हत्या प्रकरणमा दर्जनौं अनुसंन्धान भएपनि अहिलेसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् ।
निर्मलाको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले उल्टाखामकै दिलीप विष्टलाई भदौँ चार गते पक्रापछि सार्वजनिक गरेको थियो । मानसिक सन्तुलन बिग्रिएका बिष्टलाई फसाउन खोजेको भन्दै सवत्र विरोध भएपछि प्रहरी उनलाई रिहा गर्न वाध्य भएका थियो ।
विष्टको डिएनए परिक्षण पनि मेल खाएको थिएन् । त्यसपछि स्थानिय दुई किशोरलाई पनि प्रहरीले अभियुक्त भन्दै पक्राउ गरेको थियो । पछि उनिहरु पनि निर्दोष सावित भई रिहा भएका थिए ।
घटनाको प्रारम्भिक अनुसंन्धान र प्रमाण संकलनमा कंचनपुर प्रहरीले गम्भिर लापरवाही गरेका कारण दोषी अहिलेसम्म उम्किन सफल भएको विभिन्न तथ्यहरुले देखाएको छ । घटनाको अनुसंन्धानमा तत्कालिन कंचनपुर प्रमुख लगायत अन्य प्रहरी अधिकारीहरु वर्खास्त समेत भएका थिए ।
पछि उनीहरुमाथि लागेको आरोपमा अदालतले सफाइ दिएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।
निर्मला हत्या प्रकरणले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै चर्चा पाएपनि दोषी अहिलेसम्म पक्राउ नपर्दा नेपाल प्रहरीमाथि नै विभिन्न आशंकाहरु उत्पन्न भएका छन् । यस घटनाले प्रहरीको क्षमतामाथि नै गम्भिर प्रश्न खडा गरिदिएको समेत नागरिकको आवाज छ ।
निर्मलाका हत्यारालाई बर्तमान शेर बहादुर देउवा नेतृत्वको सरकारले कारवाही गर्नेमा भने पीडित परिवारको झिनो आसा पलाएको छ ।
निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रधानमन्त्री देउवा आफनो जिल्लावासी समेत भएकाले ढिलै भएपनि न्याय पाउने कुरामा आसा जागेको बताइन् ।