ओलीलाई अर्को झट्का, गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्रीमा काँग्रेसका नेपाली नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । शनिबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) बमोजिम नेता नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संसदमा विश्वासको मत नपाएपछि नयां सरकार गठनका लागि शुक्रबार प्रदेश प्रमुखबाट आव्हान भएवमोजिम विपक्षी गठबन्धनले नेता नेपालीलाई मुख्यमन्त्रीमा अघि सारेको थियो।

नेपालीलाई मुख्यमन्त्री बनाउन वहुमत ३१ प्रदेश सांसदको सर्मथनमा हस्ताक्षर सहित हिजै दाबी पेश गरिएको थियो ।

एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि आज आफुलाई पुन मुख्यमन्त्रीमा दाबी पेश गरेपछि गण्डकी प्रदेशको राजनीति तंरगित भएको थियो ।

विश्वासको मत गुमाइसकेका गुरुङले पुन मुख्यमन्त्रीमा दावी पेश गर्नु र काँग्रेस नेतृत्वको वहुमत नयां सरकार गठन गर्नमा प्रदेश प्रमुखले आनाकानी गरिरहेको भन्दै विपक्षी गठबन्धनका सांसदहरु धर्नामा बसेका थिए ।

मुख्यमन्त्रीमा नियुक्त नेपालीले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक ब्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार