
काठमाडौँ । भारतीय फिल्म आरआरआरले प्रदर्शनमा आएको दोस्रो हप्ता मै दश अर्ब बढी रुपैयाँको व्यापार गर्न सफल भएको छ । भारतका चर्चित निर्माता तथा निर्देशक एसएस राजमौलीद्धारा निर्देशित बहुभाषामा रिलिज फिल्म आरआरआरले वल्र्डवाइड एक हजार करोड कमाएको हो । यो कमाई भारतको कुनै फिल्मका लागि एक सपना रन भएको निर्माताहरुले बताएका छन् । निर्माण पक्षले फिल्म आफ्नो तर्फबाट सर्वश्रेष्ठ दिएको र त्यसको बदलामा दर्शकबाट अमुल्य माया पाएको उल्लेख गरेका छन् ।
“भारतको कुनै फिल्मका लागि १००० करोड़ रुपैंया एक ड्रीम रन हो। हामीले तपाइका लागि आफ्नो सर्वश्रेष्ठ दियौं र बदलामा तपाइले हामीलाई आफ्नो अमूल्य माया दिनुभयो”, आरआरआर फिल्मको टुइटर अकाउन्टमार्फत भनिएको छ ।
वल्र्डवाइड प्रर्दशित आरआरआर कमाइले हिसावले भारतको तेस्रो फिल्म बनेको छ । यसअघि प्रभासको बाहुबली २ र अमिार खानको दंगलले १ हजार करोड कमाएको थियो ।
भारतीय फिल्म विश्लेषकहरुले आरआरआरको अझै माथि पुग्ने बताइरहेका छन् । राजामौलीलाई भारतीय फिल्म उद्योगमा ठुलो बजेटको फिल्म बनाउने निर्माता, निर्देशक भनेर चिनिन्छ । आरआरआर फिल्म करिब ५५० करोडमा बनेको बताइन्छ । यस हिसावले आरआरले दोब्बर कमाई गरिसकेको छ ।
फिल्ममा २०औं शताब्दीतिरको कथालाई उच्चतम् प्रविधिमार्फत देखाइएको छ। फिल्ममा जुनियर एनटीआर, रामचरण, अजय देवगन र आलिया भट्टको अभिनय छ ।
बलिउडमा पछिल्ला केहि बर्षयता साउथ इण्डियन फिल्मले आफ्नो दबदबा बढाउँदै लगेका छन् । एकपछि अर्को साउथ इण्डियन फिल्महरु सुपर हिट हुँदै गइरहेका छन् ।










