
काठमाडौं। सङ्घीय संसद्का दुई वटै सदनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज छुट्टा छुट्टै समयमा बस्न लागेको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८३र०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ।
सरकारले बजेट ल्याउनुपूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिन यो छलफल प्रक्रिया अघि बढाएको हो।
प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विधिवत् छलफल सुरु हुनेछ।
राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।











