
काठमाडौं । यसबर्षको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला आजबाट सुरु भएको एनपीएल सिजन २ को पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको हो । त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा पहिलो पटक आज फ्लड लाइटमा खेलाइएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले काठमाडौंलाई जितका लागि १३१ रनको लक्ष्य दिएको थियो । जसमा जवाफी ब्याटिङमा उत्रिएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर विजय भयो । जितका लागि काठमाडौंका बेन चार्ल्सवर्थले सर्वाधिक ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे ।
खेलमा पहिले ब्याटिङ गर्दै जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जसमा आसिफ शेखले सर्वाधिक ५४ रन, मयन यादवले ३४ र लाहिरु समारकूनले २२ रन बनाए । खेलमा जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिएका थिए ।
त्यस्तै काठमान्डौंका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादव, साहबल आलम र करणा केसीले एक/एक विकेट लिएका थिए ।
खेलमा काठमाडौंले बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
नेपालमा पहिलो पटक फ्लड लाइटमा खेलाइएको क्रिकेटको दर्शकहरुले मजा लिएका थिए । स्टेडिएम भित्र र बाहिर दर्शकहरुको ठुलो भिड थियो ।










