
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले काम गर्न योजना चाहिने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको संयुक्त चुनावी सभामा बोल्दै उनले कतिपय उम्मेदवार गफ हाग्न सिपालु भएपनि काम गर्न भिजन नभएकाले काम गर्न योजना चाहिने बताएका हुन् ।
उनले काम गर्न गफ भन्दा योजना चाहिने भएकाले दम्भ र गफले नहुँने बताएका छन् । जनता गफाडीका पछाडि लाग्दैन,’ उनले भने । चुनावी सभामा बोल्दै उनले अहिले काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट काँग्रेसले मेयर र समाजवादीले उपमेयरका रुपमा उम्मेदवार मैदानमा पठाएको जानकारी गराए ।
काठमाडौं महानगरपालिकामा गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले राम्रो एजेण्डा प्रस्तुत गरेको भन्दै उनले भने, ‘उहाँहरुको एजेण्डाले म प्रभावित भए । उहाँलाई धन्यवाद । यस्तै उपमेयरका उम्मेदवारले पनि राम्रो प्रस्तुत गर्नुभयो । सुशासन, फोहोर व्यवस्थापन र सांस्कृतिक संरक्षण गर्ने कुरा गर्नुभयो । उहाँले धेरै राम्रो कुरा गर्नुभयो ।’
काँग्रेसले गणेशमान सिंहको परिवारकी बुहारी सिर्जनालाई मेयरमा अगाडि सारेर महिलाको सम्मान गरेको उनले बताए । यस्तै उपमेयरमा ऊर्जाशील उम्मेदवार रामेश्वार श्रेष्ठलाई अगाडि सारेको बताए ।
साथै उनले देशमा दुई वटा गठबन्धन रहेकाले जनताले लोकतान्त्रिक बाम गठबन्धन र प्रतिगामी गठबन्धन मध्ये एउटा रोज्नु पर्ने समय आएको बताएका छन् ।’एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था र संविधान विरोधीहरु एक ठाउँमा उभिएको बताए । आजसम्मका परिवर्तन, संविधान र गणतन्त्रका हिमाहित प्रगतिशीलहरु लोकतान्त्रिक बाम गठबन्धनको पक्षमा देखिएको बताए ।
नेपालले भने, ‘प्रतिगामी कित्तामा उभिएकाहरुलाई मत दिनुभयो भने पछि पछुताउनुपर्ने छ । पाँच दलीय गठबन्धनको छैन । कही नहुने जात्रा केपी ओलीको पालामा देख्न पायौं । यस्तालाई बिर्सिएर पनि मत दिनुहुँदैन ।’ पाँच दलीय गठबन्धनले पवित्र लक्ष्य राखेर गठबन्धन गरेको उनको भनाइ छ ।










