चुनाव जितेपछि वास्ता नगरेको भन्दै मेयर बालेनलाई भेटेर फिल्मकर्मीले यस्तो भने

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र फिल्मकर्मीबीच आज छलफल भएको छ ।

मनोरञ्जन क्षेत्रको कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयलाई लिएर मेयर बालेन र फिल्मकर्मीबीच छलफल भएको हो।

अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेनले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखेका छन् ।

साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ । अहिले कोषले स्वास्थ्य परिस्थिति हेरेर एक लाख रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।

मनोरञ्जन करमा छुट दिन सकिए कोरोना प्रभावित उद्योगलाई राहत मिल्ने फिल्मकर्मीहरुले बताए । बालेन मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए ।

छलफलमा अशोक शर्मा, निर्मल शर्मा, दीपाश्री निरौला, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायत सहभागी थिए । आफ्ना मागहरुप्रति मेयर बालेन सकारात्मक रहेको फिल्मकर्मीहरुले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार